भैरहवा- स्वास्थ्य कार्यालय रुपन्देहीले काेराेना परीक्षणका लागि शनिबार १ सय ९१ जनाको स्वाब संकलन गरेकाे छ। पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकाे हाे।
कार्यालयले जिल्लाका ६ वटा पालिकाले निर्माण गरेका क्वारेन्टाइमा रहेका व्यक्तिहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरेको हो। स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले दिएको जानकारी अनुसार कोटहीमाई, मर्चवारी, सम्मरीमाई, ओमसतिया, रोहिणी र लुम्बिनी सांस्कृतिक नगरपालिबाट नमुना संकलन गरिएको हो।
स्वास्थ्यकर्मीको टोलीले कोटहीमाईबाट २६, सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ६२, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाब संकलन गरेको शाहले जानकारी दिए। उनीहरु सबै भारतबाट आएका हुन्।
संकलन गरिएको स्वाबको नमुनामध्ये १ सय ७४ जनाको नमुना काठमाडाैंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ भने बाँकी १७ जनाको स्वाब प्रादेशिक प्रयोगशालामा परीक्षण गरिने छ।
प्रादेशिक प्रयोगशालाका लागि ३ सय थान किट आएको छ। बाँकी व्यक्तिको आइतबार स्वाब परीक्षणका लागि नमुना लिइने स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।