काठमाडाैं- संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडक बनाउन सुरु गरेकोप्रति चासो देखाउँदै छलफलका लागि बैठक बोलाएको छ। समितिले आइतबार बिहान बस्ने समितिकाे बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई बोलाएको हाे।
समिति सभापति पवित्रा निरौला खरेलले यो देशको सीमाको कुरा भएकाले तत्काल छलफलमा उपस्थित भएर जानकारी दिन मन्त्रीहरुलाई बोलाइएको बताइन्। भारतले नेपाली भूमि कालापानी–लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाउन सुरु गरेको प्रति चासो देखाउँदै संसदीय समितिले गृह, परराष्ट्र र भूमि व्यवस्थामन्त्रीलाई छलफलका लागि बोलाएको हो।
समितिको बैठक आइतबार बिहान ८ बजेका लागि बोलाइएको छ। नेपाली भूमि मिचिएकोबारे सरकारको धारणा माग्न र आवश्यक निर्देशन दिनका लागि बैठक बोलाइएको हो।
भारतका गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक कालापानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।