पोखरा– सराङकोटको धार्मिक पर्यटन विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ गत माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट ६ करोड ६ लाख ५४ हजार ४ सय ७ रुपैयाँ बचत भएको छ।
बिहीबार सराङकोटमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले ६ करोड ३९ लाख ४७ हजार ८ सय ५ आम्दानी भएको र ३२ लाख ९३ हजार ३ सय ९८ रुपैयाँ खर्च भएको जानकारी दिए।
सराङकोटमा विशाल शिव मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ महायज्ञ सञ्चालन गरिएको थियो। महायज्ञमा बौद्ध अंग्रेजी शिक्षक ङवाङ बिष्टले १५ करोड रुपैयाँको लागतमा विशाल बौद्ध मन्दिर निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए।
तिमिल्सिनाका अनुसार प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले मुख्य शिवमन्दिर तथा उक्त परिसरमा बन्ने अन्य मन्दिरका मूर्तिसमेत निजी खर्चमा उपलब्ध गराउने घोषणा गरेका थिए। मन्दिर सहितका संरचना निर्माणका लागि विभिन्न दाताबाट ८ रोपनी १ दाम जग्गा महायज्ञमा दान प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले विशाल शिव मन्दिरका साथै बुद्ध मन्दिर निर्माणले सराङकोटलाई धार्मिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य साबित गर्ने विश्वास व्यक्त गरे।
महायज्ञका मूल कथावाचक भागवत भाष्कर कमलनयन गौतम थिए।
सो अवसरमा शिव मन्दिरको निर्माणार्थ १ करोड र आगामी दिनमा मन्दिरको नित्य पूजा सञ्चालनका लागि २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने अन्नपूर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीलाई सम्मान गरिएको थियो।
समुद्री सतहबाट लगभग १ हजार ५ सय ९२ मिटर उचाइमा रहेको सो स्थानसम्म पुग्न पोखरा–बागलुङ राजमार्गको बिन्ध्यवासिनी चोकबाट साढे ७ किलोमिटरको दूरी तय गर्नुपर्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।