पेतालिङजया– मलेसियामा थप २५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार त्यहाँको स्वास्थ्य मन्त्रालयले थप २५ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
मलेसियाको स्वास्थ्य मन्त्रालयकाअनुसार रेम्बाउस्थित एउटै कम्पनीमा कार्यरत २५ नेपालीमा कोरोना संक्रमण भएको हाे। शुक्रबारमात्रै ५३ आप्रवासीमा कोरोना भेटिएको त्यहाँको स्थानीय सञ्चारमाध्यम द स्टार डिजिटल पत्रिकाले उल्लेख गरेको छ। जसमध्ये २५ नेपालीसँगै १८ बंगलादेशी, ८ इन्डोनेसियन र २ म्यानमारका नागरिक रहेका छन्।
शुक्रबार २५ नेपालीमा कोरोना भेटिएसँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ३७ पुगेको छ। बिहीबारमात्रै ९ जना नेपालीमा कोरोना पुष्टि भएको थियो। त्यसअघि पनि ३ जना नेपालीमा कोरोना पुष्टि भएकोमा २ जना निको भएका छन्। मलेसियाको अस्पतालमा ३५ नेपाली उपचाररत छन्।
हालसम्म मलेसियामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ३५ पुगेको छ। १ सय ७ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय ६४ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।