काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन्। गजुरेलले शुक्रबार विज्ञप्ति जारी गरेर कोरोना महामारीमा सरकारले कमजोरी गर्दा संक्रमण फैलिएको आरोप लगाएका छन्।
उनले आगामी वर्षको बजेट कोरोनामै केन्द्रित गर्न अनुरोध गरेका छन्। लकडाउनले दैनिक श्रम गरेर खाने समुदाय समस्यामा परेको बताउँदै गजुरेलले त्यस्ता समुदायका लागि राहत वा अन्य कुनै व्यवस्था गर्न माग गरे। कतिपय क्षेत्रमा राहत वितरण गर्दा भेदभाव भएको भन्दै सबैलाई समान व्यवहार गर्न उनकाे आग्रह छ।
यस्तै काेराेना परीक्षणमा आरडिटी विधिलाई बन्द गरी पिसिआर विधिको प्रयोग गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। आवश्यक मेडिकल सामग्री व्यवस्था गरी जनताको स्वास्थ्यमा ख्याल गर्न पनि उनले अनुरोध गरेका छन्।
रोजगारी र अध्ययनको सिलसिलामा विदेश गएका नेपाललाई कूटनीतिक माध्यमबाट पहल गरी सुरक्षित रुपमा स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न उनकाे माग छ। नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश आउने व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।