काठमाडौं- खाद्यान्न र मेडिकल सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका अब सबैथरी सामग्रीका लागि खुला भएको छ। जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच बुधबार र बिहीबार भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने सहमति गरेको हो। यो निर्णयपछि अब सामाग्री आयातमा रोकतोक नहुने भएको छ।
नाकामा स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा दिएर सामग्री ल्याउने सहमति गरिएको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए। ‘स्वास्थ्यको विषयलाई लापरबाही नगरियोस् भन्ने हाम्रो मुख्य माग थियो। त्यसमा सहमति भएपछि हामीले रोकतोक गर्ने कुरै छैन।’
स्वास्थ्य प्रोटोकलको पालना गर्दै दिनहुँ १० वटा कन्टेनरबाट आवश्यक सामान आउने उनले बताए। अब रेडिमेडबाहेक व्यापारिक सामग्रीमा किटनाशक औषधि छर्किनेलगायत सबै प्रक्रिया पूरा गरेर भित्र्याउन सकिने उनले बताए।
स्थानीय, जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने र एक महिनामा समीक्षा गर्ने पनि सहमति भएको छ।
पौडेलका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम हेल्थ डेस्कको मेडिकल सेट ल्याएर नाकामा स्वास्थ्य परीक्षण कडाइ गरिएको छ। ‘एक डाक्टर र दुई स्वास्थ्यकर्मीबाट सिसाको स्क्रिनबाट हातमात्रै निकालेर टाढाबाट परीक्षण हुनेछ,’ उनले बताए।
चीन–नेपाल आउजाउ गर्दा सबै विवरण लेखिएको पासको व्यवस्था गरिएको छ। ३० मिनेट कन्टेनर रोकेर डिसइन्फक्टेट स्प्रे गरिनेछ। यसअघि व्यापारीहरुले स्वास्थ्य सामाग्री ल्याउनुपर्नेमा लसुन र स्याउ भित्र्याएको भन्दै स्थानीयहरुले विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।