भैरहवा–रुपन्देही ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले सुरक्षाकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्ति (फ्रन्टलाइन)मा रहेर काम गरिरहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई सांसद पाण्डेयले ४० थान पीपीई उपलब्ध गराएका हुन्।
उनले सशस्त्र प्रहरी बल रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेललाई २० थान र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापालाई २० थान पीपीई हस्तान्तरण गरेका हुन्।
पीपीई हस्तान्तरण गर्दै प्रदेशसभा सांसद पाण्डेयले सुरक्षा निकायको अथक प्रयासले सीमा क्षेत्रको सुरक्षा अवस्था राम्रो रहेको बताए । उनले आफूले जनप्रतिनिधिका नाताले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताले पीपीई सेट उपलब्ध गराएको बताए।
यसअघि सांसद पाण्डेयकै अगुवाइमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई १० थान पीपीई उपलब्ध गराइएको समाजवादी पार्टी सिद्धार्थनगर समितिका इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.) गुप्ताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।