काठमाडौं– नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९)का लागि ल्याउने अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आउने क्रम सुरु भएको छ। स्थलमार्गबाट ६ सय १० क्युबिक मिटर (करिब २१५ टन रजिष्टर) स्वास्थ्य सामग्री नेपालका लागि छुटिसकेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वलमार्गबाट ३ लट सामग्री नेपालतर्फ छुटी सकेको जानकारी दिए। उनका अनुसार २२ गते पहिलो लटमा १ सय १० क्युबिक मिटर (३८.८४ टन रजिष्टर), २४ गते दोस्रो लटमा १ सय ५० क्युबिक मिटर (५२.९७) र बिहीबार तेस्रो लटमा ३ सय ५० क्युबिक मिटर (१२३.६०) स्वास्थ्य सामग्री नेपालका लागि छुटिसकेका छन्।
सेनाले चिनियाँ सरकारी कम्पनी सिनो फर्म इन्टरनेशनलसँग २ अर्ब २५ करोड (१ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर) भन्दा बढी मूल्यको २ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो। ती सामग्री मध्ये केही हवाईमार्ग बाँकी स्थलमार्गबाट ल्याउने तयारी सेनाले गरेको थियो।
प्रवक्ता पाण्डेका अनुसार स्थलमार्गबाट आएको पहिलो लट ३१ बैशाखमा नेपाल आइपुग्ने छ। ‘पहिलो लट ३१ गते आउँछ होला,’ उनले नेपाल लाइभसँग भने, ‘स्थलमार्गबाट आएका समान त्यही बेलादेखि आउने क्रम सुरु हुन्छ।’
हवाईमार्गका लागि पहल गर्दै
पाण्डेले हवाईमार्गबाट ल्याउने सामग्रीको पनि पहल भइरहेको जानकारी दिए। त्यसका लागि भन्सारको प्रक्रिया सुरु भइसकेको र ३ देखि ५ दिनभित्रमा ‘चार्टर्ड विमान’ स्वास्थ्य सामग्री ल्याउन ग्वान्जाओमा पठाउन सकिने उनको भनाइ छ।
सेनाले हवाईमार्गबाट अध्यावश्यक स्वास्थ्य सामग्री ल्याउन मंगलबार गन्जाओ पठाउने गरी नेपाल एयरलाइन्सका विमान तयारी अवस्थामा राखेको थियो। तर, मे दिवसका अवसरमा चीनमा हुने लामो सरकारी विदाका कारण स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्न लागेको दुई ‘चार्टर्ड उडान’समेत प्रभावित भएको थियो। दुई विमानमार्फत करिब ३७ टन स्वास्थ्य सामग्री ल्याउने तयारी सेनाको थियो।
चीनको बिदा सकिने बित्तिकै भन्सारको प्रक्रिया सुरु गर्न आग्रह गरिसकिएको र त्यहीअनुसार ‘वेयर हाउस’ खडा गर्न काम पनि भइसेको पाण्डेले जानकारी दिए। ‘हिजोबाट कार्यालय सुरु भएपछि औपचारिक अनुरोध पठाइसकेका छौं,’ उनले भने, ‘हाम्रो अनुरोधलाई मानेर हिजै वेयर हाउस खडा भइसकेको छ।’
भन्सारमा ‘लेभलिङ’ र प्रमाणीकरणको काम गर्नु पर्नेमा लेभलिङको काम आजबाटै सुरु भइसकेको पाण्डेको भनाइ छ।
भन्सार प्रक्रिया छिटो सकाउन कूटनीति च्यानलमार्फत भएसम्मको पहल गरिरहेको पनि उनले जानकारी दिए। ‘नेपाल सरकारको तहबाट परराष्ट्र मन्त्रालयमार्फत चिठी पठाइसकेको छ,’ कूटनीतिक पहलबारे जानकारी दिँदै पाण्डेले भने, ‘बेइजिङस्थित हाम्रा सैनिक सहचारीबाट सम्बन्धित सिनो फर्म र वाणिज्य मन्त्रालयलाई चिठी लेखिसकिएको छ। त्यसको अलवा प्रधानसेनापतिले हिजो चिनियाँ दूतावसका सैनिक सहचारीलाई बोलाएर कुरा राख्नु भएको छ। हामीले कूटनीतिका सबै उपाया प्रयोग गरेका छौं।’
सकेसम्म स्थलमार्गबाट स्वाथ्य सामग्री नेपाल आइपुग्नु भन्दाअघि नै पहिलो हवाई उडान गर्ने योजनामा आफूहरु रहेको पनि उनले जानकारी दिए। पहिलो विमानमा परीक्षण किट्सहरु ल्याइने छ।
सरकारले १६ चैतमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत औषधि खरिदका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो। सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, सिंगापुर, इजरायल र दक्षिण कोरिया गरी ५ देशलाई पत्राचार गरेको थियो। ती मध्ये चीनले मात्रै स्वास्थ्य सामग्री र भारतले केही औषधि दिन सक्ने जवाफ पठाएका थिए।
कोभिड– १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)ले आँकलन गरेअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय सेनाले गरेको थियो।
सिसिएमसीले भने तीन सय ९६ प्रकारका औषधि र स्वास्थ्य सामग्री आवश्यकपर्ने आँकलन गरेको भएपनि भारत र चीनका सरकारी कम्पनीले जम्मा एक सय २० प्रकारका औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।