काठमाडौं– भारतले कोरोना भाइरस (कोभिड– १९) महामारी रोक्न विश्वमा भएको ‘लकडाउन’का कारण विदेशमा फसेका आफ्ना नागरिककाे उद्धार अभियान सुरु गरेकाे छ।
बिहीबारदेखि सुरु भएको उक्त अभियानमा ६४ वटा विशेष उडान हुने छन्। जसमार्फत करिब १४ हजार ८ सय भारतीयको उद्धार गरिने भारतीय संचार माध्यमहरुले जनाएका छन्।
अभियानको पहिलो दिन साउदीमा फसेका भारतीय नागरिकको उद्धार गरिने छ। त्यहाँ फसेका भारतीय लिन ५ विशेष उडान गरिने छ। साउदीस्थित भारतीय दूतावासका अनुसार त्यहाँबाट करिब एक हजार भारतीलाई फिर्ता ल्याइने छ। दूतावासका अधिकारीका अनुसार करिब ६० हजारले भारत फर्किन आवेदन दिएका छन्। तर, भारत फर्किन अत्यावश्यक रहेकाहरुलाई मात्रै पहिलो चरणको उद्धारमा फिर्ता ल्याइने छ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको उडान विवरणअनुसार उद्धार उडान संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरेबिया, बहराइन, कुवेत, ओमान, मलेसिया, बेलायत, सिंगापुर, बंलादेश, फिलिपिन्स र अमेरिकमा गरिने छन्। यी सबै उडान भारतीय सरकार वायुसेवा कम्पनी एयर इन्डिया र त्यसको सहयाक कम्पनी एयर इन्डिया एक्सप्रेसमार्फत हुने छन्।
धेरै उडान (१५) केरलाबाट पठाइने छ। त्यस्तै दिल्ली र तमिलनाडूबाट ११, महाराष्ट्र र तेलंगनाबाट ७, गुतरातबाट ५, जम्मू–काश्मीरबाट र कर्नाटकबाट ३ र पञ्जाव र उत्तर प्रदेशबाट १ उडान हुने छ।
भातीय विदेश मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको विवरणमा १ करोड भारतीय विदेशमा रहेको र ती मध्ये १ लाख ९२ हजारलाई समाजिक दूरी कायम गर्दै तत्कालै उद्धार गनुपर्ने अवस्था रहेको उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।