काठामाडाैं- भारतकाे आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको रासायनिक प्लान्टमा ग्यास लिक (चुहावट) हुँदा ८ जनाकाे मृत्यु भएकाे छ।
जिल्ला अधिकारी विनय चान्दले सञ्चार माध्यमलाई दिएकाे जानकारीअनुसार ग्यास लिक हुँदा २०० जना बिरामी परेका छन्। बीबीसी हिन्दीका अनुसार गएराति स्टायरिन ग्यास लिक भएकाे हाे। ग्यास लिक हुँदा मानिसहरु निदाइरहेका थिए।
बिरामीमध्ये ८६ जनालाई भेन्टिलेटरमा राखिएको छ। विजाग प्रहरी कमिश्नर आरके मीनाका अनुसार ३ जनाकाे प्लान्ट नजिकै र बाँकीकाे किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे हाे।
ग्यास लिक हुनुको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। प्लान्टको व्यवस्थापनविरूद्ध उजुरी दर्ता गरिएको छ। प्रहरीले नजिकैका पाँचवटा गाउँ खाली गरेको छ र उनीहरुलाई मेघद्री गेड्डा र अन्य सुरक्षित ठाउँमा लगेको छ।
धेरैले आँखाको जलन र सास फेर्न गाह्रो भएको गुनासो गरेका छन्। विशेष गरी वृद्धा र बच्चाहरुलाई सास फेर्न समस्या भएकाे बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।