काठमाडौं- तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रशासन, जनप्रतिनिधि र व्यवसायीसहित बुधबार नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपुर्याउने सहमति जुटेको छ। तर नाकाबाट चिनियाँ सामग्री आयात गर्दा ‘मेडिकल प्राटोकल’ पूर्ण पालना गर्नुपर्ने शर्त भने स्थानीयले राखेका छन्।
‘नाका भएर चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपुर्याउने सहमति भएको छ,’ बैठकपछि प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भने।
तातोपानी अन्तर्राष्ट्रिय नाका भएकाले कोरोना महामारीविरुद्ध लड्न आवश्यक पर्ने सबैखाले सामग्री निरन्तर आयात हुने उनले जानकारी दिए। नेपालमा कोराना संक्रमित भेटिन थालेपछि सरकारले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको थियो। चीनमा कोरोनाले महामारीको रुप लिएपछि गत माघ १६ गतेदेखि नाका बन्द रहँदै आएको थियो। तर सरकारले महामारीमा स्वास्थ्य तथा खाद्य सामग्री अभाव हुन नदिन तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेको थियो।
एक महिनादेखि तातोपानी नाका सञ्चालनमा आइरहँदा स्थानीयले कोरोना संक्रमण ल्याउने आशंकामा आयात कार्यको विरोध गर्दै आएका थिए।
स्वास्थ्यबाहेक अन्य सामग्री तत्काल आयात गर्न नहुने जनप्रतिनिधिसहित स्थानीयको अडान थियो। पछिल्लो साता नाकाबाट खाद्यलगायत अन्य सामग्री पनि आयात हुन थालेपछि उनीहरुले विरोधको स्वर चर्को बनाउँदै आएका थिए। विरोधकै बीच मंगलबारमात्र चीनबाट आएका १२ कन्टेनर स्याउ र लसुन भन्सार प्रशासनले राजधानी पठाएको थियो। बैठकले स्थानीयमा रहेका शंका हटाएको प्रमुख भन्सार अधिकृत खत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।