काठमाडौं- सरकारले लकडाउन अवधि जेठ ५ गतेसम्म बढाएपनि अहिलेको भन्दा केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग धन्दा संचालन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज ढुवानी, विकास निर्माणलाई निरन्तरता, ग्यारेज/सवारी वर्कसप, दुग्ध तथा पशुपन्छी उद्योग, आंशिक रुपमा बैंक तथा वित्तीय संस्था संचालन गर्न पाउने निर्णय गरेको छ। तर लकडाउन अवधिमा निषेध गरिएका क्षेत्रको सूची पनि सरकारले सार्वजनिक गरेको छ।
विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षेण केन्द्र, गैर खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थल, मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिक स्थलहरु तथा धार्मिक र सांस्कृतिक कार्यक्रमहरु निषेधकै अवस्थामा रहनेछन्।
त्यस्तै रंगशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन (जिम हल), नृत्य प्रशिक्षण, फिटनेस सेन्टर, सैलुन, ब्युटिपार्लरहरु खोल्न पाइने छैन। राजमार्ग बाहेकका होटल, बार, रेस्टुँराहरु खोल्न पाइने छैन। स्थानीय प्रशासनबाट सवारी पास पाएका बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनहरु चलाउन पाइने छैन।
१२ वर्षभन्दा मुनिका बालबालिका, असक्त, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा, ज्येष्ठ नागरिक, गर्भवती महिलाले हिँडडुल र घुमघामका गतिविधि गर्न पाइने छैन। आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पाइने छैन। केबलकार र रेलसेवा संचालन गर्न पनि रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।