काठमाडौं- संघीय संसद सचिवालयले सबै सांसदको पिसिआर परीक्षण गर्ने तयारी गरेको छ। शुक्रबार संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएपछि बिहीबार नै सबै सांसदको पिसिआर परीक्षण हुने भएको हो।
जिल्ला जिल्ला पुगेका सांसद भर्खरैमात्र काठमाडौँ फर्किएको हुँदा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार परीक्षणपछि मात्रै बैठकभित्र प्रवेश गराउन लागिएको संसद सचिवलयले जनाएको छ।
राष्ट्रियसभाका ५९ जना सांसदको परीक्षणका लागि बिहान १० बजे उपस्थित हुन सचिवालयले खबर गरिसकेको छ। संसद सचिवालयमा कार्यरत रहेका कर्मचारीहरुको पनि परीक्षण गरिनेछ। परीक्षण किटको मात्रा एकदमै कम भएको भन्दै स्वास्थ्य मन्त्रालयले किट उपलब्ध गराउन आनाकानी गरिरहेको संसद सचिवालयको स्रोतले जानकारी दिएको छ।
शुक्रबार दिउँसो ४ बजे बस्ने संसदको बैठकमा सकेसम्म स्वास्थ्य सावधानी अपनाउने तयारी संसद सचिवालयले गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए।
सचिवालयले प्रत्येक दुईवटा कुर्सी खाली राखेर सांसदहरुलाई राख्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पहिलो सिटमा एक्लै राख्ने तयारी सचिवालयकाे छ।
त्यसपछिको एउटा ‘रो’ खाली राखेर सांसदहरुलाई सिट व्यवस्थापन गरिएकाे छ। सांसदहरुलाई दुईवटा कुर्सी खाली राखेर सामाजिक दूरी कायम गरेर सिट व्यवस्ठापन गरिएकाे छ।
संसदमा प्रधानमन्त्री बस्ने कुर्सी, कार्यकक्षको अवस्थाबारे बुधबार उनको निजी चिकित्सक दिव्या सिंह, स्वास्थ्य मन्त्रालय र संसद सचिवालको स्वास्थ्य टोलीले निरीक्षण गरेको थियो।
प्रधानमन्त्री पुग्ने सबै ठाउँमा सेनिटाइज गर्नुपर्ने सुझाव दिइएको छ। त्यस्तै संसद छिर्ने गेटमा हात धुन साबुन पानी राख्ने, ज्वरो परीक्षण गरिने, संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई डिसइन्फेक्ट् गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।