काठमाडौं- संसदको अन्तर्राष्ट्रिय, श्रम तथा सम्बन्धन समितिले भारतमा रहेका नेपाली र सीमामा ३५ दिनदेखि रहेकालाई सुरक्षित रुपमा स्थानीय तहसम्म ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई पाँच बुँदे निर्देशन दिएको हो।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकासँग सीमा जोडिएको नाका बनवासा र टनकपुरमा विगत ३५ दिनदेखि रहेका नेपालीहरुलाई आवश्यक स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा ल्याउने व्यवस्था गर्न समितिले भनेको छ।
भारतका विभिन्न ठाउँ तथा सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय प्रशासनले समेत नेपाल फर्कन आग्रह गरिरहेको अवस्थामा दुवै देशका सरकारहरुबीच औपचारिक छलफल गरी आवश्यक गृहकार्यसहित नेपाल फर्काउने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।
भारतलगायत विभिन्न देशमा रहेका नेपालीहरुको सुरक्षा गर्न कामविहीन भएकाहरुलाई जीविका सञ्चालनका लागि राहत उपलब्ध गराउन ती देशस्थित नेपाली कुटनीतिक नियोग र त्यस्ता नियोग नरहेको ठाउँमा परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट विवरण मगाएर काम गर्न भनिएको छ।
भारतसँग जोडिएको नेपालको सिमाना अन्तर्राष्ट्रिय कानुन र नेपालको राष्ट्रिय हितअनुकुल नियमन गर्नुका साथै हालसम्म नियमन नभएका सिमानामा पारीबाट हुनेसक्ने मानिसहरुको जोखिमपूर्ण आवतजावतलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ।
त्यस्तै सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई कोरोना रोकथामको दृष्टिकोणले आवश्यक पने स्वास्थ्य सामग्री, खाद्यान्न र उचित बासको व्यवस्था मिलाउन समितिले भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।