काठमाडौं- वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। यी मध्ये १० पुरुष र ७ जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्।
यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन्। हाल उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् भने देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।