चितवन–प्रहरीद्वारा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालको क्याबिनमा उपचार भइरहेको छ। लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा उनी मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुर पुगेका थिए।
प्रहरीको निगरानीमा रहेका उनलाई मंगलबार साँझ नै भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ। वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उनको उपचार जारी छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै कमि हुन नदिने बताए। अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा अधिकारीले उनको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थाइरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिए।
डा अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो। लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ। बुधबारदेखि नै उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ ।
अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरैमात्र धसिएको छ । अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदैै उनले नदुख्ने औषधिमात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिए।
अध्यक्ष डा अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ। अस्पतालले उनको स्वास्थ्य समस्यानुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएकोे जनाएको छ।
विरही विप्लव नेकपाका प्रकाशन विभागका प्रमुख हुन्। भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका १० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएका समयमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले मंगलबार साँझ नै भरतपुर अस्पताल ल्याएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।