भैरहवा- रुपन्देहीको मर्चवारस्थित कोटहिमाई गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १४ जनाको कोरोना परीक्षणमा रिपाेर्ट नेगेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएका कोटहिमाई गाउँपालिका १ पुर्निहवाका २५ वर्षीया युवाको ससुराली परिवार र उनले खाना खाएका ठाँउका व्यक्तिहरुको कोरोना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएको हो।
कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मंगलबार पठाइएको १४ जनाकै रिपोर्ट नेगेटिभ आएको निमित्त प्रमुख गिरीले बताए।
यसअघि उनका दाजु र परिवारका सदस्यसहित दश जनामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थियो।
भारतको नयाँ दिल्लीमा सिलाई बुनाईको काम गर्दै आएका ती युवा लकडाउनकै अवधिमा दिल्लीबाट ट्रक र पैदल यात्रा गर्दै मर्चवारको ठोठरी नाका हुँदै बैशाख ५ गते मर्चवार प्रवेश गरेका थिए। ती युवालाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो। ती युवकलाई बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनमा ज्वरो, रुघाखोकीजस्ता कुनै समस्या नभएको र स्वास्थ्य अवस्था तन्दुरुस्त मानिसमा जस्तै रहेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुदर्शन थापाले बताए। आइसोलेसन अस्पतालमा रहेका कोरोना संक्रमति युवकले नाचेर दिन बिताउने गरेका छन्।
उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीक्षणका लागि शुक्रबार नमुना संकलन गरिएको थियो। उनीहरु सबै जना कोटहिमाई ५ मा रहेको क्वारेन्टाइनमा बसेमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।