काठमाडौं-बैंक अफ काठमाण्डूले कोरोनाबाट प्रभावित कर्जालाई सम्भावित जोखिम दायित्व ‘लोन लस प्रोभिजनिङ’ गर्दा २७.७८ प्रतिशतले नाफामा गिरावट आएको छ।
विश्वव्यापी रुपमा प्रभाव पारिरहेको कोरोनाको असर नेपालको पर्यटन, यातायात, रेमिट्यान्स तथा समग्र अर्थतन्त्रमा प्रभाव पार्दा ती क्षेत्रको कर्जाको जोखिम बढेको भन्दै बैंकले तेस्रो त्रैमासमै सम्भावित जोखिम व्यवस्थापन गरेको छ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमै कर्जाको साँवा तथा व्याज असुली नहुँदा उच्च जोखिममा रहेका कर्जालाई बैंकले निगरानीमा राखेको हो।
बैंकको नाफा घट्नुमा नेपाल राष्ट्र बैंकको पछिल्लो स्प्रेडदर पनि हो। राष्ट्र बैंकले आधार व्याजदर गणना विधिका साथै स्प्रेडदरसम्बन्धी नयाँ व्यवस्था गरेको थियो।
उक्त विधिले बैंकहरुको नाफामा ठूलो असर पारेको छ। ग्रामीण क्षेत्रमा अनिवार्य शाखा खोल्नै पर्ने व्यवस्था र प्रतिस्पर्धाका लागि शाखा खोल्नै पर्ने अवस्थाले बैंकको सञ्चालन खर्च बढ्दै गएको बैंक अफ काठमाण्डूले जनाएको छ।
भोलिका दिनमा कोभिडले पार्न सक्ने प्रभावलाई अहिलेदेखि नै व्यवस्थापन गर्दै लैजाने रणनीति अख्तियार गरिएको बैंकले खुलाएको छ। समय-समयमा नसोचिएका नीतिगत व्यवस्थाले बैंकिङ क्षेत्रमा चुनौती पैदा गरेको बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा बैंकले ८७ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो। त्यस्तै खुद व्याज आम्दानी ५.२५ प्रतिशतले सुधार भएको छ। यस अवधिमा दुई अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेको छ। चालु आर्थिक वर्षको ८ महिना १० दिनमा भएको व्यापारका कारण खुद व्याज आम्दानीमा सुधार देखिएको हो।
८० करोड रुपैयाँभन्दा धेरै रकम जोखिमबापत व्यवस्थापन गर्दा लाभांस बाड्न योग्य नाफा ऋणात्मक देखिएको छ। गत वर्षको भन्दा ११२ प्रतिशतले घटेर ९ करोड ८ लाख रुपैयाँ ऋणात्मक देखिएको हो।
गत असारको तुलनामा बैंकको निक्षेप संकलन ८.५२ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ११.७० प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले ८९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खराब कर्जा भने गत वर्षको भन्दा घटेर १.५३ प्रतिशतमा झरेको छ। नाफामा गिरावटसँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँले घटेर १३ रुपैयाँमा झरेको छ।
बैंकको वित्तीय विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।