काठमाडाैं- गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको शिक्षा बजेट वृद्धि गर्ने भएकाे छ। शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र गण्डकी प्रदेशले शिक्षा व्यवस्थापनको लागि गरेको भर्चुअल प्रेसमिटमा सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले विद्यालय र शिक्षकलाई प्रविधिमैत्री बनाउनका लागि बजेट वृद्धि गर्न लागिएको जानकारी दिएकी हुन्।
लकडाउन लम्बिदै जाँदा परीक्षाफल प्रकाशन गर्न तथा नयाँ शैक्षिकसत्र संचालनमा अन्याेल भएकाे र सामुदायिक विद्यालयमा प्राविधिक कठिनाइले अनलाइन कक्षा संचालन गर्न पनि नसकिएपछि विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन लागिएको उनले बताइन्। 'शिक्षामा सबैको पहुँच हुनुपर्छ। तर, विपन्न वर्गका बालबालिकासँग स्मार्ट फोन, टिभी र ल्यापटप छैन', मन्त्री पुन मगरले भनिन्, 'यस्तो स्थितिमा गाउँलाई कडाइका साथ लकडाउनमा राखेर विद्यालयमै कक्षा संचालन गर्नेबारे छलफल हुँदैछ।'
गण्डकी प्रदेशमा अनलाइन कक्षाहरु संचालन हुन सकेको छैन। केही विद्यालयले अभ्यास गरे पनि पोखरा महानगरपालिकाले सबै विद्यार्थीको पहुँच गराएर मात्र त्यस्ता कक्षा संचालन गर्न भन्दै रोक लगाएकाे छ।
कोरोना महामारी र लकडाउनका कारण विद्यालयहरुले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन्। अधिकांश शिक्षकहरु प्रदेशबाहिरका भएकाले उनीहरु रोकिँदा विद्यालयहरुको नतिजा तयारीमा पिन कठिनाई भएको मन्त्री पुनमगरले बताइन्। 'शिक्षक आए कोरोना भित्रिने डर छ, नआएसम्म परीक्षाफल प्रकाशित गर्न सकिएको छैन,' उनले भनिन्, 'नयाँ शैक्षिकसत्र सुरु गर्न पनि प्रदेशबाहिरबाट शिक्षकहरु फर्किनुपर्ने स्थिति छ।'
गण्डकी सरकारले प्रदेशलाई सिल गरेर लकडाउन खुकुलो बनाउने र गाउँगाउँमा विद्यालय खोल्ने तयारी गरेको मन्त्री पुनमगरले बताइन्। 'पहिलो चरणमा थोरै विद्यार्थी रहेका गाउँका विद्यालयहरु खोलिनेछन्। तर, ती विद्यालयमा पनि बाहिरी प्रदेशका शिक्षकहरु नहुँदा पठनपाठन प्रभावित हुनेछ.' मन्त्री पुन मगरले भनिन्, 'विकल्पका रुपमा स्थानीय शिक्षित युवाहरुलाई स्वयंसेवक शिक्षकका रुपमा नियुक्त गर्न प्रदेश र स्थानीय सरकारबीच छलफल चलिरहेको छ।'
धेरै विद्यार्थी रहेका विद्यालयमा भने विद्यार्थीबीच दूरी कायम गराएर भिन्न सिफ्टमा कक्षा संचालन गर्नेबारे छलफल भइरहेकाे उनले बताएन्। प्रविधिको पहुँच रहेका सहरी क्षेत्रका विद्यार्थीलाई भने मोबाइल, रेडियो र टेलिभिजनबाट अनलाइन कक्षा संचालन गर्न लागिएको छ। प्रदेश बाहिरका शिक्षक भित्र्याउनु र गाउँगाउँमा क्वारेन्टाइनमा परिणत भएका विद्यालयलाई पुरानै स्थितिमा फर्काउनु चुनौती रहेको मन्त्री पुन मगरको भनाइ छ।
अन्तरक्रियात्मक भर्चुअल प्रेस मिटमा काठमाडाैं उपत्यका र गण्डकी प्रदेशका २४ बढी पत्रकारहरु सहभागी थिए।
गण्डकी प्रदेशको बाग्लुङमा दुई संक्रमित भेटिए पनि उनीहरु निको भएर घर फर्किसकेका छन्। अन्य जिल्लामा पनि कोरोनाको कम जोखिम रहेको विश्लेषणसहित प्रदेश सरकारले लकडाउन खुकुलो पार्ने योजना बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।