काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीसँग २५ वटाभन्दा धेरै कम्पनीको २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर रहेको छ। गभर्नर अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको विभिन्न कम्पनीहरुमा प्राथमिक लगानीमात्रै १ करोड ७ लाख रुपैयाँभन्दा माथिको छ। उनले प्राथमिक बजार, हकप्रद, दोस्रो बजारबाट खरिद गर्दाको लगानी हो। दोस्रो बजारको मूल्यअनुसार उक्त शेयर बिक्री गर्दा उनले करोडौं रुपैयाँ आर्जन गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिमा डेपुटि गभर्नरबाट अवकास पाएका अधिकारीसँग बैंक, बीमा कम्पनी, नागरिक लगानी कोष तथा वित्तीय संस्थाको मात्रै २७ हजार १ सय ८४ कित्ता सेयर रहेको छ। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार नबिल बैक लि., हिमालयन बैंक लि., सिद्धार्थ बैंक लि., बैंक अफ काठमाण्डू लि., सनराइज बैंक लि., एभरेष्ट बैंक लि., मेगा बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., एनएमबी बैंक लि., ग्लोबल आईएमई बैंक लि., एनआइसी एशिया बैंक लि., मेरो माईक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थाहरुको सेयर रहेको छ।
उक्त कम्पनीहरुको सेयर प्राथमिक दोस्रो बजार बोनस सेयर र हकप्रद सेयर मार्फत खरिद गरेका हुन्। अहिले उक्त कम्पनीको दोस्रो बजारको मूल्यअनुसार ४८ लाख २७ हजार रुपैयाँ पर्न आउछ।
उनीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धी ईटा, ज्योति स्पिनिङ्गलगायतका औद्योगिक निकायहरूका कम्पनीको ११ सय कित्ता सेयर रहेको छ। यो सेयर उनले प्राथमिक बजारबाट खरिद गरेका हुन्। अहिले उक्त सेयरको बजार मूल्यअनुसार ४५ हजार २ सय रुपैयाँ पर्न आउछ।
त्यस्तै नविल ब्यालेन्स फण्ड २ को मात्रै एक लाख ८० हजार इकाई रहेको छ। उक्त फन्डका लागि उनले १८ लाख रुपैयाँ लगानी गरेका छन्। त्यस्तै उनीसँग जलविद्युत कम्पनीहरुको सेयर २७ हजार २ सय २९ कित्ता छ। उक्त सेयर खरिद गर्न उनले ४० लाख १७ हजार ५ सय रुपैयाँ खर्च गरेका छन्।
चिलिमे, एचआइडिसिएल, सानिमा माइ हाइड्रोपार, अपर तामाकोशीलगायतका हाईडोपावरसम्बन्धी कम्पनीहरुको सेयर दोस्रो बजारबाट खरिद गरेका हुन्। अधिकारीले आफ्नो बचतबाट सेयरमा लगानी गरेको उल्लेख गरेका छन्। अधिकारीसहित उनको परिवारका सदस्य सरिता अधिकारी, महिमा अधिकारी र सौगात अधिकारीको नाममा रहेको छ। उनले मध्य तमोर जलविद्युत कम्पनीमा अग्रिम रुपमा ५० लाख रुपैयाँको सेयर लगानी गरेका छन्।
यस्तो छ अधिकारीको सम्पत्ति विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।