कैलाली- कैलालीस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते ऐरको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए।
गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्किएका हुन्। ठक्करबाट मोटरसाइकल चालक घोडाघोडा १० का भरत बोहरा सामान्य घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले बताए।
धनगढीबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको एम्बुलेन्स र चालक धनगढी उपमहानगरपालिका १० का आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।