काठमाडौं- नेपालगञ्जको त्रिवेणी मोडमा प्रहरी र स्थानीय बासिन्दाबीच विवाद भएको छ। लकडाउन उल्लंघन गरेका स्थानीयको भीडलाई हटाउन खोज्दा प्रहरी र स्थानीयका बीचमा धकेला धकेल भएको हो।
सो क्रममा प्रहरीले केही व्यक्तिलाई लाठीले हानेपछि स्थानीय बासिन्दाले ढुंगा, मुढा गरेको प्रत्यक्षदर्शीले जानकारी दिए। ‘निषेधाज्ञा लागू नहुदै केही व्यक्ति सामान किन्नका लागि बजारमा निस्केका थिए, त्यही बेला पुलिसको गाडी आयो, त्यत्तिकैमा प्रहरीसँग विवाद भयो र झडप भयो,’ एक प्रत्यक्षदर्शीले भने। सो क्रममा आक्रोशित भएका स्थानीयले प्रहरीको सवारी साधनमा समेत तोडफोडको प्रयास गरेका थिए। स्थानीय प्रशासनले मंगलबार बिहान ११ बजेबाट लागू हुने गरी तीन दिनसम्मका लागि निषेधाज्ञा लागू गरेको छ।
निषेधाज्ञाबारे नगरबासीलाई जानकारी दिन प्रहरीले बिहानैदेखि माइकिङ गरिरहेको थियो। माइकिङ गर्दै त्रिवेणीमोड पुगेको प्रहरीले केही स्थानीयको भिड लागेको देखेपछि सम्झाउन खोज्दा झडप भएको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा एक्कासी स्थानीयले ढुंगामुढा गरेको बताएका छन्। सो क्रममा प्रहरीले एक स्थानीयलाई नियन्त्रणमा पनि लिएको बताइएको छ। झडपका क्रममा केही प्रहरी र स्थानीय बासिन्दा सामान्य घाइते भएका छन्। अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।