जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर मेसिनबाट पहिलो पटक परीक्षण भएका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। जुम्लामा पीसीआर मेसिन पुगेको एक सातापछि सोमबारबाट स्वाब परीक्षण सुरु भएको थियोे।
पहिलो पटक मुगुको खत्याडमा खटिएका ७ स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो। सबैको रिपाेर्ट नेगेटिभ आएको कर्णाली अस्पतालका निर्देशक डा मंगल रावलले जानकारी दिए। मुगुको खत्याडमा एक जनामा र्यापिड टेस्ट गर्दा कोरोना पाेजेटिभ देखिएपछि प्रतिष्ठानकोे एक टोली खटाइएको थियो।
स्वास्थ्यकर्मीसँगै ४५ दिन अघि भारतबाट आएका तातोपानीका स्थानीयकाे पनि रिपाेर्ट परीक्षण गरिएको थियो। निर्देशक डा रावल भन्छन्,‘आशा गरौँ यसरी नै सधैँ हाम्रो प्रदेशमा कोभिड १९ नेगेटभ नै रहोस्।’
कर्णालीको जुम्लामै पीसीआर मेसिनबाट स्वाब परीक्षण सुरु भएपछि यहाँ कोराना परीक्षण गर्न सहज हुने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।