काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल नयाँ कक्षा तथा तहमा भर्ना नगर्न नगराउन निर्देशन दिएको छ। केही विद्यालयले अनलाइन कक्षाका नाममा शुल्क असुलेको र कक्षा संचालन गर्न लागेको भन्दै मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि यस्ता गतिविधि रोक्न निर्देशन दिएको हो।
बैसाख २२ गतेको मन्त्रीस्तरीय निर्णयानुसार यस्तो निर्णय भएको मन्त्रालयले जानकारी गराएको छ। कोभिड-१९ को संकमण रोकथामका लागि लकडाउनको अवस्था रहेको र लामो समयदेखि देशभर विद्यालयहरू बन्द भएको सन्दर्भमा परीक्षा तथा विद्यार्थी भर्नाको विषयलाई लिएर उठाइएका विषयहरूका सन्दर्भमा यस्तो सूचना जारी भएको मन्त्रालयको भनाइ छ।
'हाल सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्ने, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नु नगराउनु हुन सूचित गरिन्छ,' मन्त्रालयले जारी गरेको सूचनाामा उल्लेख छ।
यसैगरी, कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ तथा १२ का परीक्षाका सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको समेत मन्त्रालयले जानकारी गराएको छ।
संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन समेत मन्त्रालयले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।