धनगढी- कैलालीका दुईवटा औषधि व्यवसायीलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली र आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीको संयूक्त अनुगमन टोलीले व्यवासायीलाई कारबाही गरेको हो।
टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित सरोज मेडिकल हल र गोदावरी नगरपालिका वडा नम्बर २ स्थित हिमाल फार्मेसीलाई जरिवानासहितको कारबाही गरेको हो।
धनगढीको सरोजलाई २० हजार र गोदावरीको हिमाललाई २ लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले बताए। उनका अनुसार सरोजलाई औषधि खरिद बिल माग गर्दा देखाउन नसकेको र हिमालले सर्जिकल मास्कमा मूल्यवृद्धि गरेर बिक्री वितरण गरिरहेको पाइएको थियो।
आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको जानकारी दिए।
उनले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ ‘१’ (ख) बमोजिम तत्काल जरिवाना गरिएको बताए।
उनले सोमबार धनगढी र गोदावरीमा रहेको ६ वटा औषधी पसलमा अनुगमन गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।