धनगढी- कैलालीमा अपरान्ह ४ बजेदेखि लकडाउनमा कडाइ गरिएको छ। अपरान्ह ४ बजेदेखि धनगढीलगायतका बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि पुनः कडाइ गरेको हो।
नेपालगञ्जमा १५ जनामा कोरोनाको संक्रमण पाइएपछि कैलालीमा समेत लकडाउनमा कडाई गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जनजीवन सहज बनाउन दुई घण्टा खुकुलो पारिएको लकडाउनमा सर्वसाधारणहरु निस्फिक्री भएर सवारी साधन र पैदल निस्किने र पसलहरु खुल्नेक्रम तीव्र भएपछि लकडाउन पूर्ववत कडाइ गर्ने निर्णय गरिएको हो।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडसँगको छलफलपछि प्रजिअ बोहराले सोमबार अपरान्ह ४ बजेदेखि धनगढी बजार पूर्ण रुपमा बन्द गरिएको बताए।
मेयर वडले धनगढीका व्यवसायी र उद्योग वाणिज्य संघसंगको छलफलमा सम्पूर्ण पसलहरु २५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको बताए।
लकडाउन कडाई गरेसँगै सुरक्षाकर्मीहरुले बजारमा सवारी साधनहरु नियन्त्रण अभियान तीव्र पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।