काठमाडौं- टिपर तथा ट्रक व्यवसायीहरुले निर्माण सामग्रीको ढुवानीमा एकरुपता कायम गर्न माग गरेका छन्। कारोना भइरसको संक्रमणपछि बन्द भएको निर्माण कार्य आंशिक रुपमा खुल्न थालेको र निश्चित व्यवसायीले मात्र अवसर पाएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन्।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले सोमबार काठमाडौंका जिल्ला जिल्ला अधिकारीलाई निर्माण सामग्री ढुवानीमा एकरुपता कायम गर्न माग गर्दै पत्र लेखेको हो। समितिले पहुँचका आधारमा निश्चित व्यवसायीलाई मात्र पास उपलब्ध गराएर ढुवानी गर्न दिएको आरोप लगाएको छ।
समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेको पत्रमा धादिङ, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ दिइएको छ। त्यस्तै समितिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई समेत पत्र उपलब्ध गराइएको छ।
टिपर तथा ट्रक व्यवासयीलाई क्रमिक रुपमा काम दिने हो भने सबैले सहज रुपमा जीवन जिउने आधार समेत हुने उनीहरुको भनाइ छ। व्यवसायीहरुले सरकारले तोकेको सुरक्षा मापदण्डअनुसार काम गर्न तयार रहेको समेत जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।