धनगढी- कैलालीका स्थानीय तहहरुले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको ‘लकडाउन राहत मापदण्ड’अनुसार राहत वितरण गर्ने तयारी गरेका छन्। पहिलो चरणमा आफैंले निर्माण गरेको मापदण्डअनुसार राहत वितरण गरेका स्थानीय तहहरुले दोस्रो चरणको राहत प्रदेश सरकारको मापदण्डअनुसार वितरण गर्ने बताएका छन्।
१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा ६ वटा स्थानीय तहहरुले पहिलो चरणको राहत वितरण गरिसकेका छन् भने ६ वटा स्थानीय तहहरुले पहिलो चरणकै राहत वितरण गरिरहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको ‘लकडाउन राहत मापदण्ड’अनुसार यातायात मजदुर, श्रमिक, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, अनाथ, अशक्त, असहायलगायतका वर्गलाई राहत वितरण गरिने उल्लेख छ। सो मापदण्डले प्रति परिवार ३० किलो चामल, तीन किलाे दाल, दुई प्याकेट नुन, दुई लिटर खाने तेल, दुई किलाे चिनी, चार वटा साबुन वितरण गर्नुपर्ने उल्लेख छ।
कैलालीका १२ वटै स्थानीय तहहरुले आफैं मापदण्ड तयार गरी राहत सामग्री वितरण गरिरहेका थिए। मोहन्याल गाउँपालिकाले भने अहिलेसम्म राहत वितरण कार्य सुरु गर्न सकेको छैन।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार हालसम्म २९ हजार ३ सय ३ घर परिवारलाई स्थानीय तहहरुले राहत वितरण गरेका छन्। कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाले ६ हजार ३ सय ४५, गोदावरी नगरपालिकाले ३ हजार ४ सय २८, घोडाघोडी नगरपालिकाले १ हजार ५ सय ९०, भजनी नगरपालिकाले २ हजार ६९, गौरिगंगा नगरपालिकाले १ हजार ८ सय ९१ र कैलारी गाउँपालिकाले १ हजार १ सय ६५ घर परिवारलाई पहिलो चरण अन्तर्गत राहत वितरण गरेका थिए।
यस्तै, लम्कीचुहा नगरपालिकाले १ हजार नौ सय ४०, टीकापुर नगरपालिकाले ५ हजार ७ सय ४४, बर्दगोरिया गाउँपालिकाले १ हजार ९ सय ५५, जोशीपुर गाउँपालिकाले ७ सय १२, चुरे गाउपालिकाले २ सय ४० र जानकी गाउँपालिकाले २ हजार दुई सय २४ घर परिवारलाई राहत वितरण गरिसकेको जनाएको छ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कैलालीको दूर्गम मानिएको मोहन्याल गाउँपालिकाले अहिलेसम्म पनि राहत वितरण सुरु गर्न नसकेको जानकारी दिए।
धनगढीमा दोस्रो चरणको राहत वितरण सुरु
धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरण आइतबारदेखि सुरु गरेको छ। उपमहानगरपालिकाले वडा नम्बर १४, १८ र १९ नम्बर वडामा राहत वितरण गरेको जनाएको छ।
पहिलो चरणमा उपमहानगरपालिकाले प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक प्याकेट नुन, तेल र साबुन वितरण गरेको थियो। नगर प्रमुख नृपबहादुर वडले प्रदेश सरकारको मापदण्डअनुसार राहत वितरण गरिन लागेको बताए। उनका अनुसार पहिलो चरणमा राहत प्राप्त गरेका परिवारलाई २० किलो चामल, दुई किलो दाल, दुई प्याकेट नुन, दुई लिटर खाने तेल, दुई किलो चिनी, चार वटा साबुन वितरण गरिने बताए।
त्यस्तै दोस्रो चरणमा थपिएका परिवारलाई ३० किलो चामल, तीन किलो दाल, दुई प्याकेट नुन, दुई लिटर खाने तेल, दुई किलो चिनी, चार वटा साबुन वितरण गरिने जनाइएको छ। आइतबार नै धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ ले राहत वितरणबारे सरोकारवालाहरुसँग छलफल गरेको छ। वडा कार्यालयमा बसेको बैठकले मंगलबारदेखि दोस्रो चरणको राहत वडामा सुरु गर्ने निर्णय गरेको हो।
वडा नम्बर २ का अध्यक्ष नरबहादुर बमको अध्यक्षतामा बसेको बैठकमा राहत निष्पक्ष, पारदर्शी र सहि व्यक्तिलाई वितरण गरिनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका थिए। उनीहरुले पहिलो चरणमा पाउनुपर्ने व्यक्तिहरुले राहत नपाएको गुनासो र कसैले दुई पटक राहत पाएको गुनासो आएको बैठकमा जानकारी दिएका थिए।
वडा अध्यक्ष बमले वडा नम्बर २ मा पहिलो चरणमा ५ सय ५० घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिए। उनले दोस्रो चरणमा थप चार सय गरी एक हजार ५० घर परिवारलाई राहत वितरण गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।