काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पुर्ण वाणिज्य बैंकहरुलाई सरकारी खाताहरुको विवरण जेठ १ गतेदेखि नयाँ ढाँचा अनुसार नियमित रुपमा पेश गर्न निर्देशन दिएको छ। बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि नयाँ ढाँचा बमोजिम राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि राष्ट्र बैंककै तोकिएका कार्यालयहरुमा अनिवार्यरुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएकाे छ।
साथै, हाल इमेलमार्फत राष्ट्र बैंकसमक्ष सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको तथा सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकोले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीहरुको व्यक्तिगत इमेलमार्फत समेत प्रतिवेदन पेश गर्ने गरेकोमा अब उप्रान्त सरकारी कारोबारसम्बन्धी प्रतिवेदन पेश गर्न एउटा छट्टै इमेल आइडीको व्यवस्था गरी सोही आइडीमार्फत मात्र पत्राचार गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ।
गत बैशाख २ गते १० कार्यदिनको समयसीमा तोकी 'सरकारी कारोबार निर्देशिका २०७६' बमोजिम सरकारी कारोबार गर्न इजाजतप्राप्त सम्पुर्ण वाणिज्य बैंकहरुलाई हाल ती बैंकहरुमा सञ्चालनमा रहेका सरकारी खाताहरु अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।