भैरहवा- रुपन्देहीमा काेराेना भाइरसकाे संक्रमण देखिएपछि यहाँका स्थानीय तहहरुले थप सतर्कता अपनाएका छन्। लकडाउनमा केही नरम भएका स्थानीय तहहरु अहिले यसको पालनमा कडाइ गर्न थालेका छन्।
रुपन्देहीमै कोरोना संक्रमित देखिएपछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर विभिन्न निर्णय पनि गरेका छन्। रोहिणी गाउँपालिकाको आकस्मिक बैठकले सीमा नाकाहरुमा थप सतर्कता र कडाइ गर्ने निर्णय गरेको छ। गाउँपालिकाको ५ वटा वडाहरु भारतीय सीमासँग जोडिएर रहेको हुँदा यी वडाहरुमा गाउँपालिकाले स्थानीयहरुको थप टोली बनाई उनीहरुलाई परिचालित गर्ने जनाएको छ।
यस्तै गाउँपालिकावासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर नजान तथा पासबाहेकका सवारीसाधन नचलाउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ। रोहिणी गाउँपालिकाको बाटो प्रयोग गर्ने विभिन्न मालवाहक सवारीसाधनहरु अबदेखि रोहिणी गाउँपालिकामा रोक्न नपाउने निर्णयसमेत गरिएको छ। गाउँपालिकाले अतिविपन्न परिवारहरुको लागि दोस्रो चरणको राहत वितरण गर्ने जानकारी पनि दिएको छ।
गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रुपन्देहीमै कोरोना देखिएकोले यस क्षेत्रमा थप सतर्कता अपनाइएको बताए। उनले सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकसहित अहिले आफैं खटिएको बताए। उनले यसअघि पनि कडाइ गरिए पनि अबदेखि भने थप कडा रुपमा लकडाउनको पालना गर्ने जनाए।
यसका साथै सीमा नाकाबाट अवैध रुपमा आवागमन रोक्न स्थानीय स्वयंसेवकहरुलाई खाजा खर्च दिएर उनीहरुलाई अझै सक्रिय बनाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।