काठमाडौं– नेपाली सेनाभित्र ‘भावी प्रधानसेनापति’का रुपमा हेरिएका उपरथी प्रभुराम शर्मालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रमका बीच रथी दर्जामा पदोन्नती भएका उपरथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
१४ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। रथी दर्जामा पदोन्नती भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी पनि दिईएको छ। सेनामा दुई रथी हुनेमा दाेस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण १९ बैशाखबाट अनिवार्य अवकाश पाइसकेका छन्।
सैनिक ऐनअनुसार रथीको उमेर हद ५८ वर्ष रहेको छ। सेनाका पहिलो वरियताका रथी (बलाधिकृत) शरद गिरीले पनि उमेर हदका कारण आगामी ६ असारमा अनिवार्य अवकाश पाउँदै छन्। गिरीले अवकाश पाएसँगै शर्मा पहिलो वरियताका रथी अर्थात् प्रधानसेनापतिको सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुने छन्।
प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल २४ भदौ २०७८ मा सकिँदै छ। शर्मा अहिले सेनाभित्रको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली सम्भाररथी विभागमा छन्। उनले यसअघि युद्धकार्य महानिर्देशकको विभाग पनि सम्हालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।