काठमाडौं- बीमालेख समापन भएका बीमितहरुले लकडाउन सकिएको १५ दिनभित्रमा नवीकरण गर्नका लागि छुट पाएका छन्।
सरकारले लकडाउन गर्दा बीमितले बीमा अवधि सकिएपछि नवीकरण तथा बीमा शुल्क भुक्तानी गर्न पाएका छैनन्। बीमा समितिले असामान्य परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध (विद्युतीय माध्यमबाट प्राप्त समेत)का आधारमा बीमालेख नवीकरण गर्ने व्यवस्थालाई लकडाउन अवधि सकिएको मितिले १५ (पन्ध्र) दिनसम्म कायम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो।
लकडाउनको अवधिभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्ने भएको छ। उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई समितिले निर्देशन दिएको छ।
२०७६ चैत र २०७७ बैशाख महिनामा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको ईजाजतपत्र नवीकरणको म्याद असार मसान्तसम्म थप गरी सो बापत जरिवाना नलाग्ने व्यवस्था गरिएको हो। निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।