काठमाडौं- कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गर्दै आएको छ। लकडाउन चौथौ पटक बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ।
वैशाख २५ गतेपछि भने काठमाडौं उपत्यकाको लकडाउन केही खुकुलो गर्ने सरकारको तयारी छ। तर,निर्णय भने भएको छैन।
लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भए पनि विमानस्थल सुधारको काम भने नरोकिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज पोखरेलले जानकारी दिए।
लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार तथा सुधारको काम भने निरन्तर रुपमा भएको उनले जानकारी दिए। लकडाउनको अवधिमा विमानस्थलको ३ सय मिटरको रन-वे विस्तारको काम तिव्रताका साथ भएको उनको भनाइ छ।
‘रन–वे विस्तारको काम लकडाउनकै अवधिमा सक्ने गरी काम भइरहेको छ,’ उनले भने‚ ‘जहाज पर्किङ एरियामा लाइटिङ गर्ने काम भने सकिएको छ।’
यसैगरी लकडाउनकै अवधिमा दुईवटा ठूला क्षमताको जहाज पार्किङ-वे निर्माणका पनि अन्तिम चरणका पुगेको पोखरेलले जनाकारी दिए। साथै अन्तर्राष्ट्रिय टर्मिनल भवनको यात्रु प्रस्थान कक्ष विस्तारको काम पनि सकिएको पोखरले जानकारी दिए। ‘पुरानो ११ सय क्षमताको यात्रु प्रस्थान कक्ष भत्काउने काम जारी छ,’ उनले भने, ‘१२ सय क्षमताको नयाँ यात्रु प्रस्थान कक्ष निर्माणको काम पनि सम्पन्न भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।