काठमाडौं- प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले सुरक्षित रूपमा संसद चलाउनेबारे छलफल थालेका छन्। आइतबार संसद सचिवालयमा यसबारे छलफल गर्दै उनले संसदभित्र अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे सचिवालयका टोलीसँग छलफल गरेका हुन्।
सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी, सचिवहरुसँग संसद बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेका हुन्।
छलफलका क्रममा सभामुख सापकोटाले संघीय संसदका तर्फबाट सकिने जति सबै पूर्व तयारी गर्न निर्देशन दिए। संघीय संसद सचिवालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद भवनमा यहि वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरूलाई बसाइको व्यवस्थापन गरिएको छ।
वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले संघीय संसद भवनको स्थलगत अनुगमन गरेको थियो।
अनुगमनपछि स्वास्थ्य टोलीले सबै सबै सांसदहरूको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन, सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो।
साथै सांसादका लागि सर्जिकल मास्कको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एकजना सांसदले बोलेपछि स्यानिटाइज गरेर मात्रै अर्का सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा स्यानिटाइजर राख्न, बैठक कक्षको सेन्ट्रल एसि नचलाउनेलगायतका सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।