काठमाडौं– सरकारले बैशाख २५ पछि काठमाडौंमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। काठमाडौंमा कोरोना संक्रमित निको भएर फर्किएका र नयाँ संक्रमित नदेखिएपछि लकडाउने खुकलो पार्ने तयारी गरिएको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकमा समेत उपत्यकामा लकडाउन खुलाउने विषयमा छलफल भएको थियो। तर, मन्त्रिपरिषदको अर्को बैठकले यसबारे निर्णय गर्ने गरी औपचारिक छलफल भएन।सार्वजनिक गाडी उपत्यका भित्रिन र बाहिर जान नपाउने गरी काठमाडौंमा मात्रै लकडाउन खुलाउन सकिने वा लकडाउन लम्ब्याउने विषयमा आगामी बैठकमा औपचारिक निर्णय हुनेछ।
लकडाउन खुकुलो पार्ने विषयमा अध्ययन गरेर मोडालिटी तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयले खुकुलो पार्न सकिने सम्भावना र त्यसको मोडालिटी मन्त्रिपरिषदमा पेश गरेपछिमात्रै थप निर्णय हुने बुझिएको छ।
गृह मन्त्रालयले ल्याएको मोडालिटीमा छलफल गरेर अर्को बैठकले निर्णय लिने एक मन्त्रीले जानकारी दिए। लकडाउन खुले पनि सार्वजनिक सवारी साधन, सार्वजनिक स्थल, पार्क, रेस्टुरेन्ट, सिनेमा हल र मल सञ्चालनमा आउने छैनन्। विद्यालय तथा कलेजहरु तत्काल खुल्ने सम्भावना छैन।
सरकारले बढाएको लकडाउन वैशाख २५ को मध्यरातबाट सकिँदैछ। सरकारले आन्तरिक तथा बाह्य हवाई सेवा जेठ ३ गतेसम्मलाई रोकको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।