काठमाडाैं- जिल्ला अदालत काठमाडौंले एक मानसिक रोगी आरोपितलाई अलग्गै कारागारमा राख्ने व्यवस्था मिलाउन आदेश गरेको छ। भारत घर बताउने चोरीको आरोपमा पक्राउ परेका मोहम्मद हैदर अलीलाई अदालतले अन्य अभियुक्तसँग नराख्न भनेको हाे।
इजलाशमै मास्क फाल्ने, कोरोनाबाट आफूलाई अल्लाहले बचाउँने भन्दै इजलाशमै झगडा गरेका अलीलाई जिल्ला अदालतको आदेशपछि परीक्षण गर्दा उनले मानसिक अवस्था गुमाएको र असन्तुलन रहेको पाइएको थियो। डा. गौरव भट्टराईको टोलीले मानसिक अवस्था परीक्षण गर्दा अलीलाई मेनिया भन्ने कडा मानसिक रोग लागेको बयान इजलाश समक्ष दिएपछि जिल्ला अदालतले आइतबार यस्तो आदेश दिएको हो।
अदालतले आरोपित व्यक्तिको मानसिक अवस्था ठीक नभएकाले बयान गराएर थुनछेक गर्न भने अस्वीकार गरेको छ। यसरी अलग्गै राख्ने सुविधा भए नभएको बारेमा अध्ययन गरी प्रतिवेदन जिल्ला अदालतमा पेश गर्न पनि अदालतले भनेको छ। अलीको कोरोना परीक्षण समेत गर्न अदालतले भनेको छ। उनलाई काेराेना लागेकाे भए अन्य अभियुक्तहरुलाई सर्नसक्ने भएकाले परीक्षणपछि थुनामा पठाउन भनिएको छ।
थानकोट प्रहरीले चैत ३० गते ग्यास चुलो र अन्य सामग्री चोरी गर्दा गर्दै पक्राउ गरेको थियो। लगत्तै उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो। जिल्ला अदालतमा उनले मास्क फाक्नेदेखि बयान नदिनेसम्मका कार्य गरेका थिए।
उनले आफू भारतीय नागरिक भएकाले नेपाली भाषा नबुझ्ने र बयान नदिने जिकीर गरेका थिए। लगत्तै जिल्ला अदालतले भारतीय दूतावासबाट प्रतिनिधि झिकाएको थियो। दूतावासको प्रतिनिधि उपस्थित नहुदाँसम्म थुनामा रहेका उनले थुनुवा कक्षामा आत्महत्या गर्न प्रयास गर्ने, प्रहरीमाथि अभद्र व्यवहार भएपछि थुनछेकका लागि मुद्दा अदालत पेश गरेको थियो।
जिल्ला अदालत र भारतीय प्रतिनिधिसँगको बयानका क्रममा पनि उनले अस्वभाविक क्रियाकलाप गरेपछि अदाललते मानसिक अवस्था परीक्षण गर्न आदेश गरेको थियो। उक्त आदेशअनुसार मानसिक अस्पतालमा उनको परीक्षण गर्दा मानसिक रोग रहेको पाइएको थियो। उनको मुद्दा कोरोना परीक्षण र अलग्गै इजलाशमा राखेर अर्को पटक पेश गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।