काठमाडौं-नेपाली कांग्रेसले सरकारले प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन माग गरेको छ।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले व्यक्तिगत स्वास्थ्य सुरक्षा र मिडियाको व्यवहारिक व्यवस्थापनको चुनौती थपिएको जनाएका छन्।
‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको भएको उनले जनाएका छन्। आलोचनाको संवैधानिक हक बोकेको मिडियाको दायित्व निर्वाह गर्दा नकारात्मक दृष्टि राख्न नमिल्ने कांग्रेसकाे टिप्पणी छ।
कोरोना संकटले नेपाली मिडियामा परेका समस्याका विषयमा समेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्। 'विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसबीचमा बन्द भएका छन् भने कैयौं पत्रकार बेतलबी स्थितिमा छन्.’ विज्ञप्तिमा उल्लेख छ।
कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न देउवाले सरकारसँग माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।