पलाञ्चोक भगवती मन्दिर, पाँचखाल, काभ्रे
बनेपा-विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेको पाँचखाल नगरपालिका-९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका-५ को ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ।
पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहेका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगरिने बताए। कोरोना भाइरस संक्रमण नफैलियोस् भन्नका लागि नगर कार्यपालिकाको यही वैशाख १६ गते बसेको बैठकले मन्दिरमा पूजा र जात्रा नगर्ने निर्णय गरेकाे हाे।
नगरले जात्रा हुने वैशाख २५ र २६ गते सरोकारवाला सङ्घ/संस्था, गुठी तथा भक्तजनलाई उक्त दिन नित्य पूजाबाहेक अन्य कुनै जात्रा कार्यक्रम नगर्न नगराउन सबै गुठीयारहरुलाई सूचना गर्न मन्दिर भएको वडा नं ९ को कार्यालयलाई पत्राचार गरेको छ।
यसैबीच बनेपा नगरपालिका-५ चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा हुँदै आएको जात्रा पनि यस वर्ष स्थगन गरिएको छ । जात्रा व्यवस्थापन गर्ने बनेपा नगरपालिकाले जात्रा सञ्चालन नगर्ने निर्णय गरेको हो।
जात्रा हुने चार दिन अगाडि गुठीयारहरुले सानो रथमा त्यहाँका गरगहनाहरु चेक गरी रथारोहण गर्ने गरिएकामा त्यसलाई समेत स्थगन गरिएको छ। चण्डेश्वरी निजी खच्चा गुठीका सदस्य रघुवर चौप्रधानले बन्दाबन्दीको अवस्थामा जात्रा सञ्चालन गर्न रोक लगाइएको हुनाले यस वर्ष साधारण पूजा (क्षमापूजा) मात्रै गरी सम्पन्न गर्ने निर्णय गरेको बताए। अन्य पूजा र जात्रा स्थगन गरिए पनि नियमितरूपमा हुने नित्य पूजा भने सञ्चालन हुने जनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।