फाइल तस्बिर
सिन्धुपाल्चाेक- स्वास्थ्य सामग्री आयत गर्न खुल्ला गरिएको तातोपानी नाकाबाट अन्य सामान आयात हुन थालेपछि विवाद भएकाे छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद सुरु भएको हो।
भोटेकोशी गाउँपालिकाका विभिन्न वडाले नाकाबाट अन्य सामग्री आयात हुन थालेको भन्दै बैशाख १९ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र तीन राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका छन्। गाउँपालिकाकाका १, २, ३ र ४ नम्बर वडाका वडाध्यक्षहरुले ज्ञापनपत्र बुझाएका हुन्। बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोशी गाउँपालिका रहेको तर अन्य सामग्री आयात गर्दा कोरोना सर्ने जोखिम भएकाे उनीहरुको तर्क छ।
चीनबाटै कोरोना भाइरस फैलिएकाले यहाँका स्थानीयहरु त्रसित भएकाे भन्दै नाका सञ्चालन गर्न नहुने पक्षमा आफू रहेकाे भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुट्टी शेर्पाले बताइन्। व्यापारिक प्रयोजनका लागि अहिले स्याउ र लसुन आयात गर्ने उचित बेला नभएको उनकाे भनाई छ। शेर्पाले स्वास्थ्य सामग्री ल्याउने भनेर छलफल भएको थियो, तर त्यस विपरितका सामान आयत हुन थालेपछि स्थानीय त्रसित भएकाे बताइन्।
नाकामा भरपर्दो हेल्प डेक्सकाे व्यवस्था गरी व्यवस्थित तरिकाले सामान ल्याउनुपर्ने उनकाे भनाई छ। सुरुवाती छलफलमा तातोपानीबाट स्वास्थ्य सामग्री मात्र आयात गर्ने छलफल भएपनि पछि स्याउ र लसुन आयात भएपछि विवाद बढेको उपाध्यक्ष शेर्पाले बताइन्।
गाउँपालिकाले खाद्यान्न ल्याउनुपर्छ भनिरहँदा गाउँपालिकाका पाँच वडामध्ये चार वडाध्यक्ष त्यसको विपक्षमा उभिएका छन्। गाउँपालिकाका १, २, ३ र ४ नम्बरका वडाध्यक्षहरु स्वास्थ्य सामग्रीबाहेक अन्य सामग्री अहिलेकाे अवस्थामा ल्याउन नहुने पक्षमा छन्। ‘चीनबाट फैलिएको कोरोना भाइरसले गर्दा विश्वभर त्रास फैलिरहँदा हामी पनि त्यसबाट अछुतो छैनौं। त्यसैमाथि चीनसँग सिमाना जोडिएको भोटेकोशी गाउँपालिका कोरोनाको जोखिममा हुने भएकाले औषधिबाहेक अन्य सामान आयात गर्न हुँदैन,’ उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘अति आवश्यक खाद्यान्न चामल, दाल, नुन, तेल र मेडिकल सामग्री ल्याउने निर्णय अनुरुप तातोपानी नाका खोलिएको भएपनि अहिले जथाभावी रुपमा सञ्चालन गरिएको छ।’
अन्य सामग्री पनि ल्याउन थालिएपछि नागरिकमा त्रास फैलिएको उनीहरुको तर्क छ। ‘जनता त्रसित भएकाले स्वास्थ्य सामग्री मात्रै आयात गर्नुपर्छ भनेका हौं,’ ज्ञापन पत्रमा भनिएकाे छ, 'मापदण्डविपरित पासविहीन रुपमा भित्र्याइएको स्याउ र लसुनजस्ता सामग्रीले सीमावासीमा कोरोनाको उच्च जोखिम बढेकाे छ।’ चीनबाट भित्र्याइएका स्याउ, लसुनजस्ता सामग्रीको परीक्षण पत्र स्थानीय सरकारलाई तत्कालै उपलब्ध गराउनुपर्ने र भन्सार कार्यालयमै स्टोर गरेर राखिनुपर्ने उनीहरुको भनाई छ।
स्थानीय सरकारको पटक-पटककाे आग्रह अटेर गर्दै केही स्वार्थ बोकेका व्यापारी र बिचौलियाको मिलेमतोमा स्याउ र लसुन कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा भित्र्याउने चलखेल भएको ज्ञापनपत्रमा उल्लेख छ। यस्तो अवस्थामा लसुन र स्याउ भित्र्याउनु र उक्त सामानलाई प्रशासन र कर्मचारीले स्कटिङ गरेर ल्याउनु रहस्यमय भएको आरोप उनीहरुले लगाएका छन्।
लकडाउनपछि बन्द रहेको तातोपानी नाका चैत २६ गतेदेखि सञ्चालनमा आएको थियाे। नाका सञ्चालन भएपछि हालसम्म सो नाकाबाट १० लाख थान मास्क, करिब ३० हजार लिटर स्यानिटाइजर, चार गाडी स्याउ र २ गाडी लसुन आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। 'सरकारले नाका खोल्नुपर्छ भनेपछि हामीले सञ्चालन गरेका हौं,' खत्रीले भने, ‘स्वास्थ्य सामग्री र खाद्यान्न ल्याउने निर्णय भएको थियो।'
करिब ३ महिनादेखि बीच बाटोमा नेपाली व्यापारीहरुले ल्याएको स्याउ, प्याज र लसुन अलपत्र परेपछि भन्सारले ल्याउन अनुमति दिएको उनले स्वीकार गरे। उनका अनुसार अहिले दिनमा ९/१० वटा गाडी ल्याउने र पछि विस्तारै अन्य सामान ल्याउन सक्ने सम्भावना रहेको छ।
ज्ञापनपत्र :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।