काठमाडौं- नेपाल आयल निगमले यसपटक पनि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेलमा प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलमा १ रुपैयाँ घटेर आएको भएपनि व्यापार कम भएको भन्दै निगमले मूल्य समायोजन नगरेको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार लकडाउनका कारण अहिले पेट्रोलियम पदार्थको खपत १० प्रतिशतको हाराहारीमा मात्रै छ। व्यापार न्यून भएको कारण देखाउँदै निगमले अघिल्लो पटक अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम आइओसीबाट पेट्रोलियम पदार्थको साविकको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएर पठाएपछि मूल्य घटाएको थिएन।
‘भारतीय आयल निगमबाट डिजेलमा प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ चानचुन घटेर आएको छ। तर हामीले अहिले माग कम रहेका कारण नघटाउने भनेका छौं,’ प्रवक्ता उपाध्यायले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।