हुन त हरेक वर्ष आउने यो दिन
यो वर्ष कस्तो साइत पारेर आएछ!
वर्षभर साहुले राज गरेपनि
यो दिन तिम्रै लागि हुन्थ्यो
तिमी आफ्नो दु:ख बिसाउन
एक दिन घरमै खुशी खोज्थ्यौं।
भट्टीमा इट्टा बोक्दा उठेका ठेला बिसेक हुँदै होलान्
घाममा बोरा बोक्दा सयौं खुट्किला पार गरेका
पाउ आराम पाउँदै होलान्
डढेका तिम्रा शरीर सुकिला चम्किला हुँदै होलान्
के तिम्रो मुहारमा त्यही चमक छ?
अन्न कसरी जुटाउने भनेर तिम्रो पेट भौंतारिरहेका छैनन्?
छोराछोरी अनि श्रीमतीका भोकानाङ्गा अनुहारले तर्साएका छैनन्?
रित्तिएका गोजी अनि भरिएका जिम्मेवारीले
तिम्रो मानसिक तौल बढाएका छैनन्?
कामबाट म दूरी होइन,
मजदुरी चाहन्छु भनेर चिच्याउन मन लागेको छैन?
राहत बाँड्नेले खिचेको फोटो देखेर
भगवान्! भन्दै गुनासो गर्न मन लागेको छैन?
आज त तिम्रो दिन, मजदुर दिवस
बिना ज्यालादारी महंगीमा सहर भारी हुँदा
काठमाडौंदेखि सुदुरपश्चिम हिँडेका
पाइलालाई हलुका पारिदेऊ
एकै छिन बिसाइदेऊ
क्यामेरा लिएर राहत दिन आउँदै होलान् ठालुहरू
तिमी पनि के कम मुसुक्क मुस्कुराइदेऊ
राहत कोषमा गजज्क परेको फोटो दिलाइदेऊ
याद गर! यस विषम घडीमा
झुधिरहेका तिमी एक्लै मजदुर छैनौँ
तिमी मात्र मजबुर छैनौँ
होलान् बाँधिएका तिम्रा हातहरू
होलान् रोकिएका कर्मठ तिम्रा पाइलाहरू
थुप्रै श्रमिक तिम्रा साथमा छन्।
कोरोनाजस्ता रोगव्याधि मन्थन गर्दैगर्दा
कालकुट विष निस्किरहँदा
रातदिन भोकप्यास नभनी
तिमीहाम्रै लागि
अमृत खोजिरहेका छन् डाक्टरहरू
नयाँनयाँ उपकरण आविष्कार गर्दागर्दै
हात बटाइरहेका छन् इन्जिनियरहरु
नभए नि तिम्रो घरमा इन्टरनेट
तिम्राजस्तै बालबालिका सम्झेर
शिक्षामा बाधा नपुगोस् भनेर
जसोतसो अनलाइन शिक्षा
दिलाइरहेका छन् शिक्षकहरू
चौबिसै घण्टा खुला छन् एटिम बुथहरु
बैंकका हिसाब मिलाइरहेका छन् लेखापालहरू
घरमै आधा पेट खाएर भएपनि
पूरापूर माया बाँडिरहेका छन् आमाहरू
फाटेका खल्ती लिँदै फाटेका छोराछोरीका
सपना अनि मुटु सिलाउन
सियो समाउँदैछ्न् बाबाहरू
नातीनातिना छोराछोरीका चहलपहलले
एक्लिएका हजुरबाबा हजुरआमाहरूको
मुहार उज्यालिएको होला
दूरदेखि शून्यसम्म सबै मजदुर
काम फरक तर पेटका लागि सबै मजबुर
पहिले एक दिन छुट्टीका लागि तड्पने तिमी
आज कामबाट छुट्टिएर तड्पिरहेका छौं, होइन?
एक चोटी ती डाक्टरलाई सम्झ त
खाद्यान्नको अभाव हुन नदिने व्यापारीलाई सम्झ त
महामारीमा होमिएका कर्तव्यनिष्ठ पत्रकार
सुरक्षाकर्मी नर्स आदिलाई सम्झ त
चिन्ता नगर तिम्रा पाखुरीमा
देश बोक्ने ईट्टा अवश्य पर्नेछन्
तिम्रा सन्तानका आधा पेट र सपना अवश्य पूरा हुनेछन्
फाटेका अनि रित्तिएका तिम्रा खल्ती अवश्य भरिनेछन्।
त्यसैले पीडामा पनि मुस्कुराइदेऊ
आज थोरै अनि खालीमै चित्त बुझाइदेऊ
देश बनाउने भार तिमीले बोक्ने सिमेन्टका बोराहरूमा छन्
तिमीले बगाउने पसिनाका थोपाहरूमा छन्
पसिना मात्र होइन,
रोग, भोक, शोक बगाउन पनि आउँछ भनिदेऊ
किनभने आज त तिम्रै दिवस हो
नहुनु तिमी रुन कराउन चिच्याउन विवश अरे
आज त मजबुरहरुको मजदुर दिवस अरे!
आज त मजदुर दिवस अरे!
तिम्रै दिवस अरे!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।