काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका कारण व्यवसायीको वित्तीय विवरण बिग्रन सक्ने भन्दै चार्टर्ड एकाउन्टेन्टहरुले ध्यान दिनुपर्ने बताएका छन्। खतिवडाले संकटको बेला चार्टर्ड एकाउन्टेन्टले व्यावसायिक धर्म बिर्सन नहुने बताए।
'अहिलेको जस्तो अवस्थामा निजी क्षेत्रको वासलात बिग्रिन सक्छ,' उनले भने, 'वासलात बिग्रने डर छ भनेर चार्टर्ड एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन।' मन्त्री खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन्। उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको भिडियो कन्फरेन्समा उनले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा संभव नहुने बताए। 'अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छ,' उनले भने।
मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गरे। आवागनम रोकेर पर्यटन विकास नहुने भएकाले अहिले सबैभन्दा धेरै प्रभाव यही क्षेत्रमा परेको उनले बताए। निजी क्षेत्रलाई परेको समस्या बहन गर्ने विषयमा बहस गर्दा सरकारको क्षमता पनि हेर्नुपर्ने उनकाे भनाइ छ। 'निजी क्षेत्रले धेरै राजस्व तिर्ने अवस्था आउँदा मात्रै सरकारले धेरै राहत दिन सक्ने हो,' उनले भने।
मन्त्री खतिवडाले बैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताए। 'निक्षेपकर्तालाई मारेर तरलता व्यवस्थापन कसरी हुन सक्छ र,' उनले भने, 'केन्द्रीय बैंकले यो छुट र त्यो छुट दिनुपर्यो भन्ने कुरा गर्दा हामीले खोजेका सबल वित्तीय व्यवस्था कसरी होला?'
खतिवडाले ऋण तिर्ने क्षमता भएका व्यवसायीले समयमै आफ्ना काम गर्नुपर्ने बताए। 'जसको क्षमता छैन त्यसका विषयमा सरकारले सोच्छ,' उनले भने, 'क्षमता भएकाले पनि कोरोनाको प्रभाव भनेर हात बाँधेर बस्नु हुँदैन।' उनले सम्पत्ति र दायित्व मूल्यांकनको विषयमा केन्द्रीय बैंकले केही व्यवस्थापन गर्नुपर्ने हुन सक्ने बताए।
आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसले सार्वजनिक वित्त व्यवस्थापनमा चुनौती थपेको बताएका छन्। उनले बजेट निर्माण गर्दा नै खर्च कटौतीको क्षेत्र पहिचान गर्नुपर्ने र खर्च गर्ने निकाय पनि सचेत हुनुपर्ने बताए। आचार्यले बाह्य सहयोग पनि अपेक्षाअनुसार नआउन सक्ने भएकाले चुनौती बढेको उल्लेख गरे।
कोरोना भाइरसको प्रभाव बढेका कारण रेमिट्यान्स घट्ने र त्यसको असर भुक्तानी सन्तुलनमा पर्ने उनले बताए। 'कोरोनाको प्रभावले साना तथा मझौला व्यवसायमा ठूलो प्रभाव पर्ने देखिएको छ,' उनले भने, 'यसले ती व्यवसायको अस्तित्व नै खतरामा पार्ने देखाएको छ।'
सरकार र निजी क्षेत्र दुवैले गर्ने नयाँ लगानी पनि यसकै कारण प्रभावित हुन सक्ने उनको भनाइ छ। अर्थतन्त्रलाई गति दिने महत्वपूर्ण भूमिका सरकारको हुने उनले बताए। 'बाह्य रोजगारीमा कोरोना भाइरसले ठूलो प्रभाव पार्ने देखिएको छ,' उनले भने 'निर्माण, कृषि र विकासमा राम्रो ज्ञान लिएर फर्कने मजदुरलाई कृषि क्षेत्रको उत्पादकत्व बढाउन र विकासका गतिविधि बढाउन प्रयोग गर्न सक्ने संभावना छ। यसका लागि सरकराले कार्यक्रम ल्याउनुपर्छ।'
आचार्यले संकटको अवस्थामा वित्तीय क्षेत्रमा जोखिम बढ्ने भएकाले राजस्व चुहावट हुन सक्ने हुँदा चनाखो हुनुपर्ने उल्लेख गरे। साना तथा मझौला उद्योगलाई बचाउन उपयुक्त सुझावको जरुरीपर्ने भएकाले लेखापरीक्षकहरुले उचित परामर्श दिन सक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।