गाईघाट- एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने सर्तमा घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन्।
आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्वाटरबाटै अख्तियारको क्षेत्रीय कार्यालय इटहरीको टोलीले साहलाई रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ।
साहले त्रियुगा नगरपालिका–१० बस्ने बोक्सेका एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने सर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप ग्राहकबाट रु ५० हजार आज बिहान ८ बजे क्वाटरमा नै लिएको ती सेवाग्राहीले बताए।
साहले घुस लिनेबित्तिकै उनले अख्तियारलाई खबर गरेपछि अख्तियार टोली कार्यालय पुगेर जाँच गर्दा हाकिम साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताए।
यसभन्दा अघि पनि हाकिम साहले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि साह अख्तियारको निगरानीमा रहँदै आएको अख्तियारले बताएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।