काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रियूवेन रिवलिनसँग टेलिफोन संवाद गरेका छन्।
त्यहाँ रहेका नेपालीको सुरक्षाका बारेमा चासो राख्दै ओलीले बिहीबार टेलिफोन गरेका हुन्। इजरायली राष्ट्रपतिले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भनेको ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।
‘आज मेरो इजरायलका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो,’ ओलीले ट्वीटरमा लेखेका छन्, ‘मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें। उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो।’
त्यस्तै टेलिफोन संवादमा नेपाल–इजरायल दौत्य सम्बन्धको
६० औं वर्षगाँठ मनाउने, कोरोनापछिको आर्थिक पुनरूत्थानका लागि मिलेर काम गर्नेलगायतका विषयमा पनि छलफल भएको ओलीको भनाइ छ।
‘हामीले नेपाल-इजरायल दौत्य सम्बन्धको ६० औं वर्षगाँठ मनाउने र इजरायलको, विशेष रुपमा कृषि क्षेत्रको प्रविधि हस्तान्तरण गर्नेबारे छलफल गर्यौं,’ ओलीले भनेका छन्, ‘कोरोनाविरूद्ध मिलेर लड्ने र त्यसपछि आर्थिक पुनरूत्थानको लागि पनि मिलेर काम गर्ने विषयमा पनि छलफल गर्यौं।’
कोरोना संक्रमणको महामारी बढ्दै गएपछि प्रधानमन्त्री ओलीले नेपाली श्रमिकहरु रहेका खाडी र मलेसिया क्षेत्रका राष्ट्रपतिहरूसँग टेलिफोनमार्फत संवाद गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।