काठमाडौं- सरकारले विभिन्न नियमनकारी निकायबाट गराउनुपर्ने काम लकडाउनका कारण हुन नसकेको भए त्यसबापतको जरिवाना तथा विलम्ब शुल्क नलाग्ने निर्णय गरेको छ। बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
कोभिड १९ को संक्रमणका कारण उत्पन्न जटिल परिस्थितिमा विभिन्न नियमनकारी निकायबाट सम्पादन गर्ने कार्य र सोको लागि विभिन्न कम्पनी वा निकायले पेश गर्नुपर्ने विवरण तथा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीले पेश गर्नुपर्ने विवरण वा प्रतिवेदन बुझाउने म्याद २०७७ जेठ मसान्तसम्म कायम गर्ने व्यवस्था मिलाइने भएको छ। साथै कार्यायले माग गरेको विवरण पेश गर्नुपर्ने विवरण पेश गर्ने म्याद पनि सोही समयसम्म कायम हुने भएको छ।
यातायात तथा सवारी चालक अनुमति पत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट पर्मिट नवीकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा २०७७ जेठ मसान्तसम्म गर्न सक्ने र सो कारणले ढिलो भएबापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा हुनेछ।
प्राइभेट फर्म, साझेदारी फर्म, साना तथा घरेलु उद्योग वा वाणिज्य विभाग तथा औषधि व्यवस्था विभागमा दर्ता भएका संस्थाहरुको नवीकरण अवधि लकडाउनको अवधिभित्र परेमा उक्त अवधि २०७७ असार मसान्तसम्म कायम हुने भएको छ। यो अवधिमा लाग्ने कर विलम्ब शुल्क मिनाहा हुने व्यवस्था सरकारले गरेको छ।
त्यसैगरी असंगठित क्षेत्रमा काम गर्ने तर हाल काम बिहीन भएका तथा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएर पनि कोभिड १९ का कारण वैदेशिक रोजगारीमा जान नपाएका र वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पनि निजको जिल्लागत विवरण स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा सूचिकृत गरी सार्वजनिक निर्माणका अतिरिक्त प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गर्दै उनीहरुलाई उत्पादनशील कार्यमा उपयोग गर्ने निर्णय सरकारले गरेको हो। यो व्यवस्थापनलाई २०७७ असार मसान्तसम्म निरन्तरता दिइने छ।
सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लकडाउन गर्ने निर्णय हुन अगाडि सार्वजनिक खरिद ऐन बमोजिम भएका सार्वजनिक खरिद सम्झौताको म्याद थप गर्न माग गरेमा दुई महिना थप हुने भएको छ। यसरी म्याद थप गर्दा २०७६ बैशाख महिनामा बैंक ग्यारेन्टीको म्याद समाप्त हुने अवस्था भएमा सो बैंक ग्यारेन्टी जारी गर्ने बैंकले विना थप दस्तुर लकडाउन खुलेको मितिले १ महिनासम्म मान्य हुने गरी म्याद थप हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।