काठमाडौं– कोरोना भाइरसको महामारीमा मौका छोपेर थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवाल २५ दिनको हिरासत बसाईपछि २५ लाख ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशले उनलाई २५ लाख ५० हजार धरौटीमा रिहा हुने आदेश दिएसँगै धरौटी बुझाएर रिहा भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए ।
बुधबार अग्रवालको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस गरेका थिए। बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गरे। अन्ततः अदालतले उनलाई धरौटीमा रिहा हुने आदेश दिएको हो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरुप अग्रवालविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंको क्षेत्राधिकारमा पुगेको थियो। अग्रवाल अवैतानिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो।
अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए। आइतबार काठमाडौं प्रहरी परिसर टेकुले अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा बुझाएको थियो।
प्रहरीले उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीले सिफारिस गरेको थियो।
ग्राहक बनेर थर्मल गन किन्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई उनले साढे २४ सय पर्ने थर्मल गन १५ हजारमा बेच्न लागेका थिए । त्यसबेला प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको थियो ।
चीनबाट १२ सय थान गन ल्याएको अनुसन्धानका क्रममा भेटिए पनि प्रहरीले अग्रवालले १४५ थान मात्रै थर्मल गन कालोबजारी गरेको बेचेको पुष्टि गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।