काठमाडौं– तेल बोक्ने ट्याङ्करको लकरमा लुकाएर लागुऔषध तस्करी हुने गरेको पाइएको छ। हेटौंडा उपमहानगरपालिका– ५ रातोमाटे र चुरियामाईको बीचस्थित सडकबाट एक ट्याङ्करमा लुकाएर ल्याएको नियन्त्रित लागुऔषध १ सय एमएलको विनसिनरेक्स १ सय ५५ बोतल बरामद भएपछि सो कुरा बाहिर आएको हो।
लागुऔषधसहित हेटौंडा उपमहानगरपालिका– ४ हुप्राचौरमा डेरा गरी बस्ने थाहा नगरपालिका– ५ घर भएका ३१ वर्षीय मानबहादुर थोकरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्याङ्कर जाँच गर्ने क्रममा ट्याङ्करको तेल निकाल्ने लकिङ बक्समा लुकाइछिपाई राखिएको उक्त परिमाणको लागुऔषधसहित फेला पारी ट्याङ्कर चालक थोकरलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।