काठमाडाैं- आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन।
बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्। उनले आफ्नो निवेदनमा ज्यानको जोखिम समेत रहेको दावी गरेका छन्। ‘सत्ता र शक्तिकाे आडमा उनीहरुले मेरो ज्यान लिनसक्ने भएकाले अझैं पनि जोखिम छ,’ सांसद यादवको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गरिपाउँ।’
काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई बैशाख १० गते काठमाडौं ल्याएका थिए। सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।