रोल्पा- रोल्पाको सुनिलस्मृति गाउँपालिका गजुलमा रहेको जनकल्याण आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्छन् तारा महरा। खानेपानी आयोजनामा मजदुरी गर्न म्याग्दी पुगेका महरा कोरोनाको सर्वत्र त्रास बढेसँगै ८ दिनअघि गाउँ फर्किएका थिए। तर जिल्ला बाहिरबाट आएकाहरूलाई गाउँपालिकाले क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेपछि उनी घर पुग्न पाएनन्। क्वारेन्टाइनमा नै बस्न थाले।
क्वारेन्टाइनदेखि आधा घण्टाको पैदल दूरीमा घर रहेका महराको क्वारेन्टाइन अवधिमा पनि खाली छैनन्। क्वारेन्टाइन बस्दा डोको बुन्दै समयको सदुपयोग गर्दै आएका छन्। घरमा प्रयोग गरेर बढी भएका डोका उनले बिक्री गर्ने गर्दछन्। एउटा डोकाे ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ। दैनिक एउटा डोको तयार गर्छन् उनी।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनले कोरोनाका कारण काम बन्द भएसँगै दैनिकी चलाउन समस्या भएपछि यस्तो जुक्ति निकालेका हुन्। महरा क्वारेन्टाइनमा आफूसँगै बसेकाहरुलाई पनि डोको बुन्न सिकाउँछन्। पुरानो पुस्ताकाे सीप नयाँ पुस्ताले सिक्न नचाहने भएका कारण नेपाली मौलिकता हराउँदै गएकोमा उनको चिन्ता छ। सीप सिक्न चाहानेहरुका लागि लकडाउनको फुर्सद समय अवसर भएको महराको भनाइ छ। 'डोका बुन्ने सीप सिक्न खोज्नेलाई सिकाउँदै आएको छु,' महराले भने।
महराजस्तै उक्त क्वारेन्टाइनमा बसेका रामबहादुर परियारले दाम्लो, नाम्लो र डोरी बाट्ने गर्छन्। गाई, भैंसी, भेडा, बाख्रा बान्नका लागि दाम्लाको प्रयोग हुन्छ भने नाम्लो र डोरी पनि कृषकहरुका लागि अत्यावश्याक सामग्री अन्तर्गत पर्दछन्।
पछिल्ला दिनमा प्लाष्टिक बाट बनेका दाम्ला र डोरीको प्रयोग हुन थालेसँगै भिमलबाट दाम्लो र डोरी बनाउने सीप लोप हुन थालेको छ। मौलिकता बचाउनकै लागि भएपनि भिमलको लोक्ताबाट दाम्लो, नाम्लो र डोरी बुन्ने सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने परियारको भनाई छ। क्वारेन्टाइन बसाइँमा आफूसँगै बसेका र यस्तो सीप नभएकाहरुलाई पनि सीप हस्तान्तरण गर्दै आएको परियारले बताए।
'घरमा प्रयोग गरेर बचेका दाम्ला, नाम्ला र डोरी गाउँलेहरुले किन्ने गर्छन्,' परियारले भने। सुनिलस्मृति गाउँपालिका- ६ गजुलमा रहेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका २५ जनामध्ये अधिकांशले यस्तै सीपमूलक काम गरेर आयआर्जन गरिरहेको पाइएकाे छ।
बलभद्र मावि थवाङमा रहेको क्वारेन्टाइनमा बस्नेहरुले पनि डोका, नाम्ला, डोरी, काठे चिरङ्गा, वेन्डिङ तारको डोका बनाउने काम गरिरहेको थवाङ गाउँपालिकाका गोविन सहयात्रीले जानकारी दिए। क्वारेन्टाइन बसेकाहरु अधिकांशले यस्तै सीपमूलक काम गरेर आयआर्जन गरेका छन्,' सहयात्रीले भने।
घरमा प्रयोग गरेर बढी भएका ती सामान बिक्री हुँदै आएको छ। लोप हुन थालेका यस्ता कैयौं सीपहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दा मौलिक ज्ञान सीपको संरक्षणमा मद्दत पुगेको सहयात्रीको भनाई छ।
'रोजगारीमा अधिकांश समय पुरुषहरु घरबाहिर हुँदा महिलाले डोको, नाम्लो, दाम्लो र डोरी बजारबाट खरिद गरेर दैनिकी चलाउने बाध्यता थियो,' स्थानीय शुशीला सुवेदीले भनिन्। क्वारेन्टाइन बसाइँले यस्ता सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको साथै डोका र नाम्लाको अभावमा दैनिकी चलाउन धौधौ भइरहेका गृहिणीहरुलाई राहात मिलेको उनले बताइन्।
क्वारेन्टाइन बस्नेहरु अधिकांश आर्थिक अवस्था कमजोर भएर रोजगारीका लागि जिल्ला बाहिर गएकाहरु छन्। लकडाउनले काम बन्द भएसँगै उनीहरुलाई घर व्यवहार चलाउनसमेत समस्या हुँदै आएको थियाे। डोका, दाम्ला र नाम्ला बनेर बिक्री गर्न थालेसँगै यो समस्या कम भएकाे उनीहरु बताउँछन्।
जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधबार बेलुका जानकारी गराएको विवरण अनुसार राेल्पाका क्वारेन्टाइनमा बस्नेको संख्या ६ हजार ९२२ पुगेको छ। जिल्ला भित्रनेहरुको संख्या दिनानुदिन बढी रहेकाले यो संख्या पनि दैनिक बढिरहेको हाे।
यसरी क्वारेन्टाइन बस्नेमध्ये २ हजार ४०५ जना महिला छन्। हालसम्म क्वारेन्टाइन बसेका मध्ये ९८६ जना घर फर्किसकेका छन्। उनीहरुलाई १४ दिने क्वारेन्टाइनमा राखी थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर फिर्ता गरिएको बताइएको छ।
क्वारेन्टाइन समय अनुत्पादक रुपमा वितिरहेको गुनासो आइरहेका बेला रोल्पाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुले भने आयआर्जन गरेर घर व्यवहारमा सघाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।