काठमाडौं–चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा पर्यटक आगमन झन्डै १४ प्रतिशतले घटेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकका आधारमा पर्यटक आगमन १३ दशमलब ८२ प्रतिशतले घटेको हाे।
पर्यटक आगमन घट्नुको प्रमुख कारण कोराेना भाइरस रहेको छ। कोराेनाका कारण देश लकडाउनमा छ भने पर्यटक आउने बाटो र भिसा पनि बन्द छ। यसको प्रभाव कूल गार्हस्थ उत्पादन (जिडिपी)मा नै परेकाे देखिएको छ।
पर्यटक आगमनमा कोरोना भाइरसका कारण परेकाे अवरोधले पर्यटन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक रहने विभागको अनुमान छ।
जिडिपीमा पर्यटन क्षेत्रको योगदान चालु आवमा १ दशमलब ४१ प्रतिशत रहनेसमेत विभागको अनुमान छ। होटल तथा रेष्टुराँ क्षेत्रको कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालु आव २०७६/७७ मा १६ दशमलब ३० प्रतिशतले कमी हुने विभागको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।